चितवन ।
असार २९ गतेबाट नयाँ भाडादर लागू गरिएको छ । नारायणगढ भएर देशका अन्य गन्तव्यसम्म जाने भाडादर सार्वजनिक भएसँगै यात्रुसँग गाडीधनीले सोहीअनुसार भाडा लिन थालेका छन् । नारायणगढ भएर देशका विभिन्न ११ वटा गन्तव्यमा जाँदा लाग्ने भाडा र दूरी सार्वजनिक गरिएको छ ।
नारायणगढबाट काठमाडौँको हकमा भने एउटै प्रदेश परेका कारण भाडा नतोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूषालले बताए । एउटै प्रदेशभित्रको गन्तव्यमा सम्बन्धित प्रदेशले नै भाडा तोक्ने व्यवस्था रहेको उनको भनाइ छ ।
डिलक्स सुविधा दिने बसको हकमा बिलबुकमा यातायात व्यवस्था विभागअन्तर्गत रहेको भिएफटिसी कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित हुनुपर्ने व्यवस्था छ । त्यस्ता बसले २० प्रतिशतसम्म बढी भाडा लिन पाउने उल्लेख छ ।
यात्रुबाहक सवारीमा २८ प्रतिशत, पहाडमा सञ्चालन हुने मालबाहक गाडीमा २० प्रतिशत र तराईमा सञ्चालन हुने मालबाहक गाडीमा २६ प्रतिशत भाडा बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा। भूषालले बताए ।
२०७२ सालपछि वैज्ञानिक भाडादर निर्धारण हुन नसकेकोमा यसपटक गरिएको छ । ०७५ असोजमा इन्धनलाई मात्र आधार मानेर १० प्रतिशत वृद्धि गरिएको उनले बताए । विभागले बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग परामर्शगरी यातायात श्रमिकको पारिश्रमिक, प्रहरीमा मुद्दा दर्ता, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, ह्रास कट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा भाडा समायोजन गरिएको प्रवक्ता भूषालले बताए ।
तोकिएको भाडादर लागू भएरनभएकोबारे यातायात महासंघ, ट्राफिक प्रहरीले अनुगमन गर्न सकिने उनले बताए । बढी भाडा लिएमा यात्रुले तत्कालै गुनासो गर्न सक्ने भूषालको भनाइ छ । साथै, यातायातमा आरक्षण सिट र भाडा छूट सुविधा दिएरनदिएको पनि अनुगमन हुने उनी बताउँछन् ।