काठमाडौँ ।
केन्द्रीय समिति बैठकमा भाग लिन पार्टी कार्यालय पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुकै भागाभाग भएको छ। सोमबार केन्द्रीय समिति बैठकलाई दबाब दिन भेला भएका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीबीच झडप हुँदा नेताहरुबीच नै भागदौड मच्चिएको हो। दिउँसो भएको झडप केही साम्य भए पनि बेलुका चौथो तलमा केन्द्रीय समितिको बैठक सुरु भएसँगै विद्यार्थीबीच हानाहान सुरु भएको थियो। दिउँसो १ बजे बोलाइएको बैठक बेलुका ५ बजे मात्र सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
बैठक सकेर निस्कने क्रममा विद्यार्थी नेताहरुले अर्कोपक्षका नेताहरुमाथि नै ढुंगामुढा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठकपछि घर जान लागेका ती सदस्यले भने, ‘पार्टी कार्यालयबाट बल्ल बल्ल बाहिर निस्किएँ। झडपले गर्दा ज्यान जोगाउनै धौधौ पर्यो। प्रहरीको सहयोगमा बाहिर निस्केर गाडीमा चढेपछि कुरा गर्दै छु।’
दिउँसो भएको झडपबाट सिटौला पक्षका विद्यार्थी नेता कुन्दनराज काफ्ने र प्रकाश पन्थ घाइते भएका थिए। बेलुका भएको झडपमा कति जना को-को घाइते भए भन्ने विवरण अँध्यारोका कारण थाहा हुन नसकेको सहभागी एक विद्यार्थीले जानकारी दिए।
झडपका कारण पार्टी कार्यालयमै थुनिएका नेताहरु प्रहरीको स्कटिङमा निस्किरहेका छन्। कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ। झडपका कारण केन्द्रीय समिति बैठकले प्रदेशसम्मको अधिवेशनको कार्यालयका हेरफेर गर्ने निर्णय मात्र गरेको छ। अर्को बैठक माघ २३ गतेसम्मका लागि स्थगित गरिएको छ।