भिम भुसाल, नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका ६ मा पर्ने देवचुली डाँडासँग खड्क बहादुर बराल (मगर) को बिगत ४० वर्षदेखि सम्बन्ध जोडिएको छ । नवलपुरको बोझादेखि गाई बाख्रा गोठ बनाउन भन्दै १९ वर्षे किशोर उमेरमा देवचुली चुचुरोको फेदीमा आएका खड्क बहादुर अहिले सम्म त्यही घरमा बसिरहेका छन् । १० छोरा छोरी, बोल्न नसक्ने भाई बुहारी, श्रिमती र आफूँ गरि जम्मा १४ जनाको परिवार बस्ने घरमा अतिबेला भने ७ जना मात्रै रहेका छन् । ‘छोराहरु बिहे गरि बुहारी लिएर आफ्नो –आफ्नो शुर गरे म बुढाको जिन्दगी यहि भिरपाखा मै बित्ने भो’ खड्क बहादुरले सुसेल्दै भने ।
पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि करिब २३ किमी दलदले बजारबाट उत्तरतर्फ रहेको देवचुली पर्यटकिय गन्तब्यको बलियो आधार बन्दै गएको छ । देवचुली डाँडामा शैक्षिक भ्रमण, पिकनिक, तीनकन्या माईको पूजा गर्न आन्तरीक पर्यटकहरु आउने र मनोरम दृश्य अवलोकन गर्न बाह््य पर्यटकको संख्यामा समेत निरन्तर बृद्धि हुदै गएको छ । पर्यटकिय गन्तब्य देवचुली डाँडाको यात्रामा निस्कियको हाम्रो टोली देवचुली नगरपालिकाको दलदले हुदै किर्तिपुरबाट खड्क बहादुरको घर सम्म पुग्न करिव ७ घण्टाको पैदल यात्रा पछि सम्भव भएको थियो ।
निरन्तरको पैदल यात्रापछि थकानका साथ खड्कबहादुरको आँगनमा पुग्दा, चाउरीएका गालामा हेरीरहुँ लाग्ने मुस्कानका साथ पिडिको डिलबाट चकटी दिदै बस्नको लागि खड्क बहादुरले स्वागत गरे ।
पिउने पानिको अभावका बावजुत पनि उनकी छोरी कृष्ण कुमारीले ठूलो लोटा (भाँडो) मा पिउने पानी ल्याएर दिईन् । पिडिबाटै पानि पिएर आँगनको एक छेउमा बनाईएको सानो घरमा हामि प्रवेश गर्यौँ जहाँ देवचुली चुचुरोमा जाने हरेक पर्यटक बाँस बस्ने गर्छन् । साँझ परिसकेको थियो त्यसैले देवचुली डाँडामा पुग्ने हाम्रो यात्रा भोली पल्टको लागि थाति राख्दै खड्क बहादुरसँगै त्यहि घरमा नाचगान गर्ने, गफ गर्ने र दुख सुखका कुरा साटासाटमा गर्दै रात बितायौँ । बिहानको घाम जुल्किनुभन्दा पहिल्यै आकाशमा गड्याङ्–गुडुङ्को आवाज चर्किन थाल्यो, खड्क बहादुरको घरमा रहेका कुखुराका भालेले बिहानी हुनुको संकेत दर्शाइसकेका थिए ।
बादल ठोक्किएर गर्जीएको आकाशले कान नजिकै सुनाएको आवाजलाई संकेत गर्दै थियो र हामिलाई अनुभुति हुदै थियो हामि बादल माथि आकाशमा छौँ भन्ने । ठुला– ठुला थोपासँगै आकाशबाट वर्षात हुन थालेपछी हत्तपत्त खड्क बहादुर त्रिपाल लिएर हामि सुतेको सानो घरको प्रवेशद्धारलाई छेक्न थाले । रात बिताएको सानो घरमा ढोका थिएन त्यसैले पानिको बाछिटोले नहानोस भनी खड्क बहादुरले आफुँ रुझ्दै हामिलाई न्यानो बनाउन लागे । उनको मायाँ र सेवा देखर उन्लाई हामि सुतेको बिस्तारामा बोलायौ र गफिन थाल्यौ । खड्क बहादुरले सुनाउदै गए देवचुलीसँगको जिन्दगीको यात्रा, ‘ तिन बिस पुगिगसक्यो जिन्दगी । छोराहरु बुहारी लिएर गयो एउटा छोरी बाँकी छ अहिले १० कक्षामा पढ्छे भाउजुको घरमा शहर गएर, अहिले बिदामा घर आएकी छे, २ छोरा बिहे गर्न बाँकी छन् । उनिहरु शहर जालान, बिहे गर्लान तर म यो घर छोडर जाँदिन ।’ खड्क बहादुरले परिवारको कुरा गर्दै आँखाका गहभरी आँशु बनाईसकेका थिए । हामि केही नबोली सुनिरह्यौँ । ‘ पहिले मेरो मात्रै घर थियो अहिले २ जनाले अल्लि तल कान्लातिर घर बनाएर बसेका छन् । मान्छे आउन लागेको देवचुली डाँडामा ७–८ वर्ष भयो नत्र कुमारवर्ती माईका रुपमा गुफामा पुजा गर्न थारुहरु मात्रै आउथे ।’ खड्क बहादुरले भने ।
पहिले कुखुरा, गाई, बाख्रा चराएर दिन बित्यो अहिले पर्यटकहरु आउन लागेपछि यसरी नै सेवामा दिन रात काट्ने गरेको छु । धेरै पैसा कमाउन परेको छैन परिवार चलाउन पुगे मलाई अरु केहि चाहिदैन खड्क बहादुरले सुनाए । ‘अब एउटै ईच्छा छ मेरो पर्यटक आउन सजिलो बाटो बनेर खानेपानी घरसम्म ल्याउन सके सबैले देवचुली चिन्थे । बाटो अप्ठ्यारो भएर भारी बोक्दा धेरै पटक भिरबाट लडेको छु । माथि डाँडानिर मन्दिर बन्न लागेको छ । त्यो मन्दिर छिटो बनेर गुफालाई चिनाउन सक्ने भने म बसेको यो पहाड सुन हुने थियो । सबै पर्यटकले देवचुलीलाई चिन्थे ।
सानोमा स्कुल जान नपाएपनी बाह्रखरी लाहुरे मास्टरबाट गाऊमै सिकेँ । अहिले अलिअलि हिसाब गर्दा गर्दै अलिअलि जान्ने भाछु । खड्क बहादुरले हास्दै भने । धेरै दुख गरेको छु यहाँ, डाँडाको चुचुरोमा भएको स्मार्टको टावर हो । त्यो टावर पनि यही पाखुराले बोकेको हुँ अहिले पो बुढो भएँ धेरै काम गर्न सक्दिन ।
१९३६ मिटर अग्लो देवचुली डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरीएको छ । भ्यूटावरसँगै स्र्माट फोनको टावर समेत राखिएको छ । उक्त भ्यूटावरबाट नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडा लगायत वन्यजन्तु देखिन्छ भने उत्तरी भेगमा कालिगण्डकी नदिसहित हिमालका मनोरम दृश्यावलोकन गर्न सहज भएको छ ।
खड्क बहादुरले भन्दै गए, ‘नजिक स्कुल छैन छोरा छोरीलाई २–३ घण्टाको बाटो हिडाएर पोखरी भन्दा तलको ८ कक्षा सम्मको स्कुलमा पढाएँ । बिरामी भयो भने २ दिनसम्म घरमै बस्ने हो ठिक भयो भने अस्पताल जाँदैनौँ, गाह्रो भयो भने बोकेर पोखरी सम्म लैजान्छौँ अनि जिपमा हालेर दलदले कि भरतपुर लैजानुपर्छ ।’
उनको कुरा सुन्दा सुन्दै वर्षात रोकिन्छ खड्क बहादुर भन्छन्, पानी रोकियो अब डाँडा चढ्नुस, बादल फार्यो सबै स्पष्ट देखिन्छ, बाटो चिप्लो होला ख्याल गरेर जानुस् । डेढ घण्टामा चुचुरोमा पुग्नुहुन्छ ।’ खड्क बहादुरको मायाँ र आर्शिवादसँगै हाम्रो यात्रा अगाडी बढ्छ ।